www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका पहिरो पीडितको घरबास पुनर्निर्माण गर्न अनुदान

म्याग्दी ।

गत वर्षाको पहिरो, कटान र बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पीडितले आवास पुनर्निर्माणका लागि सरकारबाट पाँच लाखका दरले अनुदान पाउने भएका छन् ।

गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले हिमाली जिल्लाका बाढी पहिरो पीडितका लागि निजी आवास पुनर्निर्माणका लागि पाँच लाखका दरले अनुदान दिने व्यवस्थासहितको कार्यविधि पारित गरेको हो ।

Batas

स्थानीय तहमार्फत तीन किस्तामा अनुदान व्यवस्थासहितको कार्यविधि आएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । ‘कार्यविधिअनुसार लाभग्राही छनोट गर्न छ वटै स्थानीय तहलाई पत्राचार गरेका छौँ’, उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिको खातामा एकमुष्ट आउने अनुदान पालिकामार्फत वितरण हुनेछ ।’

हिमाली जिल्लाको हकमा पाँच लाख, पहाडमा रु चार लाख र तराईमा तीन लाख अनुदान दिने कार्यविधि तयार भएको छ । विघटित प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले हिमाली जिल्लामा सूचीकृत भएका कारण म्याग्दीवासीले पहाड र तराईकाले भन्दा बढी अनुदान पाउने बताए । सरकारले २०७५ फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।

एकाघर परिवारका सदस्यको देशभर कहीँ कतै जग्गा नभएको, बाढी पहिरोका कारण पुनः घर बनाउनै नसक्ने गरी जग्गा मासिएको परिवारले बढीमा थप तीन लाखका दरले जग्गा खरीदका लागि पाउने व्यवस्था छ । गत जेठ ३० यता बाढी पहिरोका कारण पीडित बनेका सबैले अनुदान पाउने प्राधिकरणले जनाएका छन् । पीडितले बनाउने घरको नमूनासमेत प्राधिकरणले सार्वजनिक गरेको छ ।

प्राधिकरणले स्थानीय तहको परिचालन र अनुगमनपछि पुनर्निर्माणको काम थाल्ने भएको हो । अनुदान रकम लाभग्राहीको खातामा जान्छ । स्थानीय तहको सिफारिसका आधारमा लाभग्राहीले किस्तामा अनुदान पाउँछन् । पीडितको लगत संकलन र वास्तविक लाभग्राही पहिचानको जिम्मेवारी भने जिल्ला विपद् व्यवस्थापन समितिले पाएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले ४० वटा निजी आवास पुनर्निर्माण शुरु गरेको छ । मोनाले प्रतिपरिवार पाँच लाख खर्च गरेर घर बनाउन लागेको हो ।

प्राधिकरणले उपलब्ध गराउने अनुदान घरबास गुमेकाले मात्रै पाउनेछन् । गत बर्खामा म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर प्रभावित भएका थिए । पहिराले भत्किएर पूर्ण क्षति भएका २४७ घर पुनर्निर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरण गर्नुपर्ने तथ्यांक संकलन भएको थियो ।

धवलागिरि गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर, अन्नपूर्णका आठ वटा बस्तीका १३७ घर, मंगलाका ९ बस्तीका १००, रघुगंगाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुनर्निर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.