www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रगान गाउँदै विश्वयात्रामा हिँडे्का नेपालीलाई बेलढुंगामा बिराम लाग्दा

रामबहादुर थापा
पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किए ।

गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा गर्यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाएका छैनन् । मानिस भेला पारेर कार्यक्रम गर्नु त झनै टाढाको कुरा । पर्यटकीय सहर पोखराको फेवाकिनारमा उभिएर विभिन्न देशका राष्ट्रगानमार्फत विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाह गर्ने उनको योजना तत्काललाई पर सरेको छ । महामारी थामिएर स्थिति सहज हुनासाथ कार्यक्रमको चाँजोपाँचो मिल्नेमा उनी निर्धक्क छन् । पोखराका स्थानीय आयोजक संस्था र शुभेच्छुकले पनि कार्यक्रम गरी छाड्ने वचन उनलाई दिएका छन् ।

Batas

कुनैताका ‘दोहोरी’ र ‘लोकपप’ गाउँदै हिँड्ने गायक नेपालीको अहिले मूल विधा नै राष्ट्रगान भएको छ ।

लम्बिँदो निषेधाज्ञाबीच केहीसमय घरमै बसेर ध्यान, साधना गर्ने र राष्ट्रगान गाउने अभ्यासलाई निरन्तरता दिन जन्मथलो फर्केको नेपालीले सुनाए । महामारीका बेला लामो यात्रा तय गर्न नपाए पनि उनले नजिकका गन्तव्य चहार्ने, पर्यटन प्रवद्र्धनमा स्थानीयवासीसँग हातेमालो गर्ने र आफ्नो राष्ट्रगानको अभ्यासलाई निरन्तरता दिँदै आएका छन् ।

यही सिलसिलालाई नेपालीले यसपालि काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा पर्ने पर्यटकीय लेक बेलढुंगासँग जोड्एि । गत सप्ताहन्तमा पर्यटनकर्मी र पत्रकारकासाथ पुगेका उनले बेलढुंगामा उभिएर राष्ट्रगान गाएका थिए । आफ्नो विश्वयात्राको सन्देश दिए । त्यहाँ उनले नेपालसहित छिमेकी देश भारत, चीन, मित्रराष्ट्र अमेरिका र फ्रान्सको राष्ट्रगान गाएका थिए । ४० वर्षीय गायक नेपालीले पर्यटकीयस्थलबाट प्रतिकात्मकरुपमा सन्देश जाओस् भनेर राष्ट्रगान गाएको बताए ।

समुद्रीसतहदेखि २६१४ मिटरको उचाइमा अवस्थित बेलढुंगाबाट राष्ट्रगान गाउँदा आनन्दको अनुभूति भएको नेपालीले सुनाउँछन् । ‘देशविदेशका धेरै समारोहमा मैले राष्ट्रगान गाएको छु, यहाँ उभिएर गाउँदा नयाँ र रोमाञ्चक अनुभव सँगाले’, उनी भन्छन् ।

बेलढुंगा एउटा उदाउँदो पर्यटकीय गन्तव्यस्थल हो । त्यसको प्रवद्र्धनमा बागलुङ र म्याग्दी दुवैतर्फबाट प्रयास भइरहेको छ । ‘प्राकृतिक दृश्यावलोकन’ स्तम्भका रुपमा चिनिने बेलढुंगा पदयात्रासहित सूर्योदय र मनोरम हिमशृंख्ला अवलोकनका लागि पर्यटकको रोजाइमा पर्छ । त्यहाँ अहिले पर्यटनमैत्री हिसाबले पूर्वाधार बनिरहेका छन् ।

कुनैताका ‘दोहोरी’ र ‘लोकपप’ गाउँदै हिँड्ने गायक नेपालीको अहिले मूल विधा नै राष्ट्रगान भएको छ । विश्वका सबै देशका राष्ट्रगान गाउने ध्याउन्नमा उनी छन् । नेपालीको संगीत अभ्यास र साधना पनि त्यसमै केन्द्रित छ । यात्रामा हुँदा होस् या विस्तारामा निदाउनुअघिसम्म उनी राष्ट्रगानको अभ्यासमै लिप्त हुन्छन् ।

नेपालीले अहिले १ सय ३० देशका राष्ट्रगान गाउन सक्छन् । बागलुङ नगरपालिका–६ भीरलात्तुरीका नेपाली ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’ को सन्देशसहित २५ देशका राष्ट्रगान गाउँदै सन् २०१७ देखि विश्वयात्रामा निस्केका थिए ।

संयुक्त राष्ट्रसंघका १ सय ९५ वटै सदस्य राष्ट्रका राष्ट्रगान गाउँदै विश्वका २ सय ३२ देश पुग्ने उनको महत्वकांक्षी सपना छ । सन् २०२५ भित्र विश्वयात्रा पूरा गर्ने उनको योजना कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ । विश्वभर एकाएक फैलिएको कोरोना महामारीका कारण उनले आफ्नो विश्वयात्राबीचमै स्थगन गर्नुपरेको थियो । भारतका ७ प्रान्त घुमेर बंगलादेश जाने क्रममा विसं २०७६ पुसमा सिलुगढीबाट नेपाली घर फर्किए ।

उनले सन् २०१७ मा बेल्जियम, फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहरमा राष्ट्रगान गाइसकेका छन् । चाँडै स्थिति ठिकठाक भए आफ्नो विश्वयात्रा फेरि सुरु हुनेमा नेपाली आशावादी देखिन्छन् । सबैभन्दा धेरै देशका राष्ट्रगान गाउनसक्ने गायकका रुपमा विश्व कीर्तिमान पनि राख्ने उनको लक्ष्य छ ।

संसारका अनेक भाषामा बनेका राष्ट्रगान गाउनु चुनौतीपूर्ण भए पनि त्यसलाई देश चिनाउने माध्यम र आफ्नो आत्म गौरवका रुपमा नेपाली स्वीकार छन् । नेपालीले गत वर्ष विश्व पर्यटन दिवसको सन्दर्भ पारेर यहाँ आयोजित समारोहमा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाएका थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.