www.tandavnews.com
Fact ~ In search of truth

रोकिएन मानव बेचबिखन, २ महिनामा ५६ महिला तथा बालबालिका उद्दार

भैरहवा

रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्यांकले देखाएको छ ।

माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ का २ महिना साउन र भदौमा मात्र ५६ महिला तथा बालबालिकालाई सीमाक्षेत्र बेलहियाबाट मानव तस्करले भारततर्फ लैजाँदै गर्दा उद्दार गरिएको छ । गत ३ आवको तथ्यांक हेर्दा मानव बेचबिखन नरोकिएको देखिएको छ ।

Batas

आव २०७५/०७६ मा २ सय ५३ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्दार गरिएको हो । ५० जनालाई भारतका विभिन्न सहरबाट उद्दार गरी नेपाल ल्याएको माइती नेपाल रुपन्देही शाखाले जानकारी दिएको छ । आव २०७६/०७७ मा २ सय ४२ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्दार गरिएको छ । १४ जनालाई भारतका विभिन्न सहरबाट उद्दार गरी नेपाल ल्याइएको हो । आव २०७७/०७८ मा १ सय ५१ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट उद्दार गरिएको छ । ८ जनालाई भारतका विभिन्न सहरबाट उद्दार गरी नेपाल ल्याएको माइती नेपाल शाखा प्रमुख माया क्षेत्रीले जानकारी दिए ।

नेपालबाट यसरी तस्करी गरी महिलालाई भारतीय कोठी र खाडी मुलुकमा पठाउने काम मानव तस्करले गर्ने गरेका छन् भने बालबालिकालाई विभिन्न सर्कसमा प्रयोग गर्ने गरेको पाइन्छ । विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेको प्रहरीले जनाएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालले देशका विभिन्न सीमानाकामा आफ्नो कार्यालय राखी मानव बेचबिखनलाई न्यूनीकरण गर्ने काम गरे पनि यो बेचिनेक्रम भने नरोकिएको देखिएको छ । देशका विभिन्न जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाबाट मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई प्रलोभनमा पारेर भारतीय क्षेत्रमा पुर्याएको पाइन्छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.