www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकी गन्तव्यका रूपमा स्थापित हुँदै काहुँडाँडा

पोखरा।
पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भूभागमा अवस्थित काहुँडाँडा यतिखेर यहाँको एक पर्यटकीय गन्तव्यका रूपमा स्थापित बन्दै गएको छ । आँखा अगाडि नै टलक्क टल्कने चाँदीजस्तै हिमशृङ्खला, फेवातालसहित पोखरा बजार एवं सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल काहुँडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।

समुद्री तहबाट एक हजार ४४३ मिटरको उचाइमा रहेको काहुँडाँडा पोखरेलीका लागि हाइकिङ गरेर पुग्ने स्थलका रूपमा समेत विकास हुँदै गएको छ । बिहान होस् वा बेलुका काहुँको फेदीबाट माथि धरहरासम्म पैदल यात्रा गर्नेको लस्करै देखिन्छ । समय नहुने सवारी साधन लिएर उक्त स्थानमा पुग्ने गरेका छन् ।

पोखरा बजारदेखि सबैभन्दा छोटो समयमा राष्ट्रिय फूल लालीगुँरास ढकमक्क फुलेको देख्न र छोएर अनुभूति गर्न सकिने उक्त डाँडामा पर्यटकको चापलाई दृष्टिगत गरी पछिल्लो समयमा घोडचडी पर्यटन, बालबालिकाका लागि मनोरञ्जनका विभिन्न खेललगायतका गतिविधिसमेत सञ्चालनमा आएका छन् ।

Batas

धार्मिक एवं पर्यटकीय महत्व बोकेको सो स्थानमा ऐतिहासिक बुद्ध मण्डलासमेत निर्माणका लागि गुरुयोजना तयार गरी १६९ रोपनी क्षेत्रफलको जग्गाको समेत व्यवस्था गरिएको काहुँडाँडामा पछिल्लो समय पोखरा र आसपासका स्थानबाट वनभोजका लागि गाडी नै लिएर समूहसमूहमा सर्वसाधारण पुग्ने गरेका छन् ।

फूलबारीदेखि काहुँ धरहरासम्म पुग्नका लागि रु १२ करोड ९५ लाखको लागतमा एकतर्फी ढलसहितको कालोपत्र र ढलान बाटो निर्माण सम्पन्न गरेसँगै आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको पोखरा–११ का वडासदस्य मीनबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार सराङकोट, अनदुडाँडास्थित विश्वशान्ति स्तूप, विशाल महादेव मूर्तिस्थलमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीयस्थल काहुँडाँडा ओझेलमा परेको थियो । यतिखेर भने आवश्यक भौतिक पूर्वाधार तयार भएसँगै पर्यटकको चाप बढेको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीको पहलमा रु ५० लाखको लागतमा काहुँडाँडामा पैदलमार्गसहितको सुविधायुक्त आधुनिक पार्क, आवश्यक शौचालय निर्माण गरिनुका साथै रु सात करोडको लागतमा निर्माण गरिने आधुनिक धरहराका लागि डिपिआरसमेत तयार भएको उनको भनाइ छ ।

कालिका माविदेखि काहुँकोट देउराली मन्दिरसम्म रु ४५ लाखको लागतमा ४०० मिटर फलामे रेलिङबारसहितको पैदलमार्ग निर्माण गरिएको छ । उक्त संरचना निर्माणका लागि सङ्घीय सरकारको रु १५ लाख, गण्डकी प्रदेश सरकारबाट रु २० लाख र महानगरपालिकाबाट रु १० लाख प्राप्त भएको वडा सदस्य गुरुङको भनाइ छ । महानगरको रु ३२ लाखको सहयोगमा उक्त क्षेत्र एवं बस्ती संरक्षणका लागि रिटेनिङवालसमेत निर्माण सम्पन्न भएको छ ।

पर्यटक तान्दै काहुँ धरहरा

काहुँडाँडाको पर्यटकीय आकर्षक भनेकै धरहरा हो । पाँच दशकअघि निर्माण गरिएको पोखराको पहिलो धरहराबाट देखिने हिमशृङ्खला तथा पोखराका दुवै विमानस्थल, फेवाताल, सेतीनदी, धार्मिक क्षेत्रसहित बजारकोे दृश्यले अवलोकनकर्तालाई मनमोहक बनाउने गरेको छ ।

छ महिनाको अवधिमा ३१ हजार जनाले टिकट काटेर धरहरामा प्रवेश गरेका थिए । अवलोकनकर्ताका लागि रु २० को टिकटको व्यवस्था गरिएको छ । उक्त अवधिमा रु छ लाख २० हजार आम्दानी भएको काहुँकोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

काहुँडाँडामा आउने पर्यटकको २० प्रतिशतमात्र धरहरा चढ्ने गरेको बताउँदै उनले भने, “पछिल्लो समय कुनै पनि सरकारबाट आर्थिक सहयोग नहुँदा यसको विकास र संरक्षणले तीव्रता पाउन सकेको छैन ।”

लालीगुराँससँग रमाउन काहुँडाँडा

फागुनदेखि चैतको पहिलो हप्तासम्म डाँडाको टुप्पोमा रक्ताम्मे ढकमक्क फुलेको लालीगुराँस फूलसँग रमाउनकै लागि पोखरालगायत नेपालका अधिकांश स्थानका आन्तरिक पर्यटक र विदेशी पाहुनासमेत काहुँडाँडामा पुग्ने गरेका छन् ।

धरहरादेखि काहुँकोट देउराली मन्दिरसम्मको धारापानी सामुदायिक वनको माथिल्लो भागमा रहेको लालीगुँरास पर्यटकको रोजाइमा पर्ने गरेको हो । काहुँकै नयाँपोखरा सामुदायिक वनका अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका कोषाध्यक्ष अम्बिका आचार्यका अनुसार लालीगुराँस फुल्ने मौसममा अन्तरिक पर्यटकले डाँडा भरिएको थियो ।

पोखरा बजारबाट नजिकैको स्थानमा रहेको लालीगुराँससँग फोटो खिच्ने, टिकटक बनाउनेको दैनिक जस्तै भीड नै लाग्ने गरेको थियो । मनोरञ्जन लिनेमा सबै उमेर समूहका व्यक्ति रहेको आचार्यको भनाइ थियो ।

घोडचडी काहुँडाँडाको छुट्टै आकर्षण

प्राकृतिक दृश्यावलोकन, राष्ट्रिय फूल लालीगुराँससँगै पछिल्लो समय काहुँडाँडासम्म पुग्ने जो कोहीको पनि थप आकर्षण बनेको छ, घोडचडी । डाँडामा पाँच महिनाअघि स्थानीय पर्यटन व्यवसायी सूर्यबहादुर कार्कीले कास्कीको घोरेपानी उल्लेरीबाट रु दुई लाख ६० हजारमा खरिद गरिएको दुईवटा घोडा बिहानदेखि साँझसम्म सञ्चालन भइरहेका छन् ।

डाँडाको टुप्पोमा धर्मकाय बुद्ध मण्डला निर्माणस्थलको समथर भागमा घोडा चढ्ने व्यवस्था छ । जुन स्थानमा घुम्नका लागि प्रतिव्यक्ति रु २०० र घोडा चढेर फोटो खिच्नेका लागि रु १०० तथा बालबालिकाको लागि रु ५० बराबरको टिकटको व्यवस्था छ ।

घोडचढी व्यवसाय चलाउँदा सञ्चालकको सरदर दैनिक रु पाँचदेखि १० हजार आम्दानी हुने गरेको छ । विशेषतः शुक्रबार र शनिबार तथा बिदाको दिन भने एकैदिनमा रु १६ हजारसम्म आम्दानी भएको सञ्चालक कार्कीले जानकारी दिए।

दुई जना घोडा चालकलाई खाना र बस्नको व्यवस्थासहित मासिक रु १५ हजारका दरले तलबसमेत दिने गरेको उनले रासससँग कुरा गर्दै भने, “घोडा पाल्न खर्चिलो छ मङ्सिर, पुस, माघ र फागुन महिनामा राम्रै आम्दानी भएको थियो । यतिखेर त कहिलेकाहीँ घोडामा काठीसमेत राख्नुपर्दैन ।” उनले सोही रमणीयस्थलमा पर्यटकको आकर्षणका लागि झुला (पिङं, वनभोजस्थलसहित रेष्टुरेन्टसमेत सञ्चालमा ल्याएका छन्।

घोडा चालकका रूपमा रहेको युवा अनिस तामाङ र रसि तामाङले घरमा परिवारसँग बसेर मासिक रु १५ हजार आम्दानी गर्न पाउँदा विदेश जान मन नलागेको बताए । घोडा चढ्न आउने कतिपयले त खुसी भएर ‘टिप्स’समेत दिने गरेको उनीहरुको भनाइ छ ।

वनभोजस्थलको रोजाइमा काहुँडाँडा

भौतिक पूर्वाधारसँगै खानेपानीको समेत व्यवस्था भएपछि काहुँडाँडा पछिल्लो समयमा पोखरा र आसपासका विभिन्न सङ्घसंस्था एवं व्यक्तिको वनभोजको रोजाइमा पर्ने गरेको छ ।

समूहको सङ्ख्याअनुसार रु ५०० देखि तीन हजारसम्म लिने गरेको संरक्षण समितिका अध्यक्ष क्याप्टेन गुरुङले जानकारी दिए। उक्त स्थानको समिति र निजी जग्गामा समेत वनभोज स्थलका रूपमा विकास गरिएको बताउँदै उनले एकैदिनमा सानाठूला गरी २७ वटासम्म टोली वनभोज खान आउँदा रु ५० हजारभन्दा बढी आम्दानी भएको जानकारी दिए । विशेषगरी मङ्सिर, पुस, माघ र फागुन महिनामा वनभोज खानेको भीड लाग्ने गरेको छ ।

सफल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको वनभोज कार्यक्रमका सहभागी पवित्रा जिसीका अनुसार पोखराको नजिकमा रहेको रमणीयस्थल काहुँडाँडा सबैखाले पर्यटकका लागि रमणीयस्थल भएको बताए । यस क्षेत्रमा आवश्यक थप भौतिक पूर्वाधारसहित धरहराको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले काहुँडाँडा एकपटक होइन बारम्बार पुग्नैपर्ने स्थानका रूपमा विकास हुँदै गएको अनुभव सुनाए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.