www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा पानी माग्दै पूजा !

बागलुङ।

सुक्खायाम चलिरहेको छ, खेतीबाली सप्रेको छैन, किसानलाई पिरलो छ, खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् ।

चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीबार ‘टापु’ पुगे । पानी परोस् भनेर प्रकृति र देउता पुजे । दुई हजार ३४० मिटर उचाइमा टापु पर्छ । त्यसलाई जङ्गलले घेरेको छ । बीचमा एउटा अजङ्ग परेको ठिन्केको रुख छ । त्यसको वरिपरि नौ वटा थान छन् । यसमा भीमसेन, इन्द्र देउतासहित प्रकृतिको पूजा हुन्छ । लामो खडेरी प¥यो र अन्नपात खेतबारीमै सुक्ने स्थिति आउँदा गाउँलेले टापुको पूजालाई महत्व दिन्छन् ।

अहिलेको बेला ठ्याक्कै त्यस्तै छ । खडेरी लम्बिएपछि प्रकृतिसँग पानी माग्न पूजा गरिएको स्थानीयवासी बताउँछन् । वडा सदस्य लोकबहादुर थापाले बाउबाजेका पालादेखि नै ‘टापु पूजा’को चलन बसेको बताए। “वर्षेनी जसो यो पूजा चल्छ, खडेरी पर्दाको वर्ष त झन् महत्व दिएर गर्ने चलन छ”, उनले भने। मङ्गलबार तीन जना पण्डितले टापुको पूजा उम्काए । तल नेटामा रहेको शिवको मन्दिरमा दुई जनाले पाठ गरेको र एक जनाले टापुमा पूजा चलाएको सदस्य थापाले जानकारी दिए।

“टापुमा पूजा गरेपछि आकाशबाट पानी पर्छ भन्ने मान्यता छ, गाउँको पराम्पराजस्तो रहिआएकाले पूजाको चलन अझै छ”, उनले भने। कतिपयले भने यस्तो मान्यतालाई अन्धविश्वासका रूपमा अथ्र्याउँछन् । पानी पर्ने–नपर्नेमा वैज्ञानिक कारण हुने भएकाले पूजा गर्दैमा प्रकृतिले पानी नदिने उनीहरुको तर्क छ । स्थानीयवासी मीना दर्जीले आफू सानै हुँदादेखि नै टापुको पूजाबारे थाहा पाएको बताइन्। “कोरोनाले गर्दा दुई वर्षजति यो पूजा भएन, नत्र निरन्तर नै हुने गरेको छ”, उनले भनिन्। पौराणिककालमा टापु नजिकैको पाण्डवखानी भन्ने ठाउँमा पाँच पाण्डव बसेको किंवदन्ती छ । सोही कारण पाँच पाण्डवमध्येका एक भाइ भीमसेनको थान बनाएर टापुमा पूजा गर्ने चलन बसालिएको हो । थानमा कुनै काटमार नगरी रोट, फूलप्रसादीले मात्र पूज्ने चलन छ । पूजाको खर्चपर्च पनि स्थानीयवासी आफैँले व्यहोर्छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.