www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ नगरपालिकामा ‘फ्रण्ट डेक्स’ सञ्चालनको तयारी

गलकोट।

बागलुङ नगरपालिकाले सेवाग्राहीको सजिलोका लागि ‘फ्रण्ट डेक्स’ सञ्चालनको तयारी थालेको छ । नगरकार्यपालिकाको तेस्रो कार्यपालिका बैठकले आम नागरिकको सहजताका निम्ति ‘फ्रण्ट डेक्स’ सञ्चालन गर्ने निर्णय गरको हो ।

‘फ्रण्ट डेक्स’ स्थापनासँगै नगरपालिका भित्र छिर्ने वित्तिकै कहाँ के गर्ने भनेर अब सेवाग्राही अलमलिनुपर्ने अवस्थाको अन्त्य हुने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरपालिकाबाट प्रदान हुने हरेक सेवालाई चुस्त दुरुस्त र यहाँ हुने वेथितिको अन्त्यका लागि डेक्स सञ्चालन गरिने श्रेष्ठको भनाइ छ ।

“यो डेक्स सञ्चालनसँगै यहाँ बस्ने कर्मचारीले सेवाग्राहीले कुन सेवा लिन आएको हो त्यो सबै बुझ्नेछन्, के के कागजात आवश्यक पर्ने छ, त्यसको बारेमा पनि जानकारी गराउनेछन्”, श्रेष्ठले भने–“कुन कामलाई कति समय लाग्ने, कामको प्रकृति हेरेर कर्मचारीले सेवाग्राहीलाई जानकारी दिनेछन्, सेवाग्राहीलाई कुपन प्रदान गरिनेछ, तोकिएको समयमा काम सम्पन्न हुनेछ, प्रत्येक शाखा शाखामा धाउनुपर्ने छैन ।”

सबै सेवाग्राहीलाई एउटै दृष्टिकोणले सेवा प्रदान गरिने उद्देश्यका साथ नगरपालिकाले नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्देशिका २०७९ नै निर्माण गरेर यो कामलाई अगाडि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए।

‘फ्रण्ट डेक्स’मा एक अधिकृत, एक इन्जीनियर सहित पाँच जना कर्मचारी हुनेछन् र कुन शाखामा सम्बन्धीत काम हो उनिहरु मार्फत नै हुने उनले बताए। सबै नागरिकलाई समान रुपमा सेवा प्रदान गर्नका निम्ती डेक्सको स्थापना गर्ने निर्णय गरिएको सापकोटाले जानकारी दिए। सेवा प्रवाह निर्देशिकालाई राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्ने उनले बताए।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.