गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन्।
मन्त्री नियुक्त भएपछि गृह जिल्ला म्याग्दी आएका उनले शनिबार विभिन्न ठाउँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिर्जना भइसकेको दायित्व पुरा नगरेसम्म प्रद्रेश सरकारलाई नयाँ कार्यक्रम र योजना बनाउन अप्ठ्यारो परेको बताए। “रु. तीस अर्बको हाराहारीमा पूँजीगत भएको गण्डकीमा यसअघिका सरकारले ठेक्का लगाएका र शुरु गरेका आयोजनामा सिर्जना भएको रु. १३ अर्ब ५० करोडको वित्तीय दायित्वले अप्ठ्यारो पारेको छ,” उनले भने “शुरु गरेका कार्यक्रम र ठेक्का लागिसकेका योजनालाई पूर्णता दिन प्रदेश सरकारले जोड दिएको छ । सिर्जना भएको वित्तीय दायित्व पुरा भएपछि नयाँ कार्यक्रम र योजना ल्याउने छलफलमा छौ ।”
मन्त्री जुग्जालीले गण्डकी प्रदेशको सम्बृद्धिको प्रमुख आधार घोषणा भएको पर्यटनसँग सम्बन्धित मन्त्रालयमा कुल बजेटको चार प्रतिशत मात्र बजेट भएकाले लगानी बढाउन पहल गर्ने बताए। वन र वातावरणको संरक्षणसँगै उपयोग मार्फत रोजगारी सिर्जना र नागरिकले लाभ लिने किसिमको नीतिगत व्यवस्थामा जोड दिने प्रतिवद्धता जनाउनुभयो । प्रदेशको औचित्य पुष्टि गराउन प्रभावकारी काम र व्यवभार घटाउन मन्त्रालयको संख्या १२ बाट घटाएर सात बनाइएको मन्त्री जुग्जालीले बताए।
म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित मन्त्री जुग्जालीलाई नेकपा (माओवादी केन्द्र)को जिल्ला कमिटी, तातोपानी कुण्ड व्यवस्थापन समिति, म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी उद्योग वाणिज्य, मंगला र मालिका गाउँपालिकाले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.