www.tandavnews.com
Fact ~ In search of truth

गल्याङले नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै

वालिङ।
स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिबब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो ।

नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए। नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत जनही रु १० हजार आठ सय प्रदान गरेको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उनले जानकारी दिए।

“क्याम्पस तथा विद्यालयले अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको आवेदन खुलाउने र त्यसैका आधारमा विद्यार्थीले आवेदन भरेका हुन्”, उनले भने, “प्राप्त आवेदनमाथि विद्यालयले छानविन गरी वास्तविक विद्यार्थी छनोट गरी नगरपालिकामा सिफारिस गरेको आधारमा यहाँबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराएका हौँ ।”

Batas

पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन् । अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए। आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए। नगरको शैक्षिक रुपान्तरणका लागि यस अभियानले विद्यार्थीमा अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने उनको विश्वास छ । नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई रु १२ लाख ६९ हजार छात्रवृत्तिस्वरुप प्रदान गरेको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.