www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण

बेनी।
म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न सुरु गरेका हुन् ।

महासङ्घमा आबद्ध २८ व्यवसायीले सामूहिकरूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयलाई सहजरूपमा पाठ्यपुस्तक उपलब्ध गराउन बिक्री केन्द्र स्थापना एकद्धारमार्फत बिक्री वितरण गर्न थालिएको महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए । उनका अनुसार गत वर्ष पुस्तक बिक्री भएको तथ्याङ्कका आधारमा आगामी शैक्षिकसत्रका लागि म्याग्दीमा कक्षा १ देखि १० सम्मका लागि १४ हजार छ सय ७० विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याइएको छ ।

जिल्लामा कक्षा ७ को सामाजिकबाहेक अन्य अधिकांश कक्षाका पूरा सेट पाठ्यपुस्तक बेनीमा ल्याइसकिएको छ । अपुग पाठ्यपुस्तकसमेत केही दिनमै बेनी आइपुग्ने महासङ्घले जनाएको छ । जिल्लामा नौ वर्षदेखि व्यवसायीले सामूहिकरूपमा बिक्री केन्द्र स्थापना गरेर सरकारी पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् ।

Batas

सबै व्यवसायीको अपनत्वमा सामुदायिक विद्यालयलाई सहजरूपमा समयमै पुस्तक उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्र सञ्चालन गर्ने गरिएको महासङ्घका पूर्वअध्यक्ष रहनुभएका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिए । उनले गण्डकी प्रदेशमा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पुस्तक बिक्री गर्ने प्रबन्ध मिलाइएको बताए । यहाँका पुस्तक व्यवसायीले करिब रु एक करोड सेयर रकम सङ्कलन गरेर सामूहिकरूपमा पाठ्यपुस्तक खरिद गरेर बिक्री केन्द्र सञ्चालन गरेका हुन् ।

अहिलेसम्म जिल्लामा ८० प्रतिशत पाठ्यपुस्तक आइपुगेको र आगामी वैशाखभित्रमा सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको केन्द्रसम्मको ढुवानीसमेत आफैँ गर्ने र विद्यालयसँग आवश्यक समन्वय गरेर सहजरूपमा पुस्तक उपलब्ध गराउने व्यवसायीले बताएका छन् । जिल्लामा दुई सय ३३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

हावाहुरीले विद्यालयको छानो उडायो

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँस्थित जनआदर्श आधारभूत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ । सोमबार आएको हावाहुरीले विद्यालयको छानो उडाएको हो ।

हावाहुरीले बालकक्षा र विद्यालयको कार्यालय सञ्चालन भएको कोठा रहेको अको भवनमा समेत आंशिक क्षति पुगेको प्रधानध्यापक फमाया पुनले जानकारी दिए । विद्यालय परिसरमा रहेको ओखरको हाँगा भाँच्चिएर विद्यालयमा खसेपछि क्षति पुगेको हो ।

वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको छ । नयाँ शैक्षिकसत्र सुरु हुने समयमा विद्यालय भवनको छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रअ पुनको भनाइ छ । विद्यालयले आगामी वैशाख ३ गतेदेखि भर्ना अभियान र १० गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने कार्यतालिका बनाएको भए पनि भवन मर्मतर नभएसम्म पठनपाठन सञ्चालन गर्न कठिन हुने प्रअ पुनले बताए ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.