www.tandavnews.com
Fact ~ In search of truth

आज एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २४ औँ स्मृति दिवस

काठमाडौं
प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष थिए।

अधिकारीको नाम लिनासाथ आम मानिसको दिमागमा सरलता, इमान र निष्ठाको एउटा बेग्लै बिम्ब निर्माण हुन्छ । राजनीतिज्ञ कस्तो हुनुपर्छ र उसको जीवन कसरी बित्नुपर्छ भन्ने उदाहरण खोज्दा मनमोहन अधिकारी समकालीन राजनीतिको एउटा ‘रोल मोडल’का रुपमा स्थापित थिए।

विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । अधिकारीकै ९ महिने सरकारको पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैं बनाउँ’र ‘नौ स’को अभियानजस्ता अभियान सुरू भएका थिए । अधिकारी नै त्यस्तो प्रधानमन्त्री हुन्, जसले प्रधानमन्त्रीका रुपमा इतिहासमा पहिलोपटक भारतसँग सन् १९५० को असमान सन्धि पुनराबलोकनका लागि औपचारिक प्रस्तावसमेत गरेका थिए।

Batas

नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा आजकै दिन निधन भएको थियो ।

बिक्रम संबत १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारीका जेष्ठ पुत्रका रुपमा जन्मिनुभएका मनमोहन अधिकारीले भारतीय स्वतन्त्रता संग्रामबाट आफ्नो राजनीतिक जीवन आरम्भ गरेका थिए। भारतबाट अंग्रेजी साम्राज्य हटाउन सन् १९४२ मा भएको ‘भारत छोडो’ आन्दोलनमा सहभागी भएर डेढ बर्ष जेल परेका मनमोहन अधिकारी भारतीय स्वतन्त्रता संग्राममा योगदान गर्ने सीमित नेपाली नेताहरुमध्ये एक थिए।

विक्रम सम्बत् २००३ साल फागुन २१ बाट शुरु भएको बिराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा क्रियाशील रहनुभएका अधिकारी नेपाल कम्युनिष्ट पार्टीभन्दा पनि जेठो कम्युनिष्ट थिए। किनकि, उनी भारतमा रहँदा नै त्यहीँको कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरिसकेका थिए। २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुँदा संलग्न हुन नपाए पनि उनी २०१० सालमा आयोजित नेकपाको प्रथम राष्ट्रिय महाधिबेशनबाट महासचिवमा निर्वाचित भएका थिए।

देश तथा विदेशमा गरी १४ बर्ष जेल जीवन बिताएका मनमोहन अधिकारीले लामो समय नेकपा (माक्र्सवादी) मार्फत् पञ्चायतविरोधी संघर्षमा नेतृत्व गरेका थिए । २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को अध्यक्ष बन्नुभएका पूर्व प्रधानमन्त्री अधिकारी त्यसउप्रान्त लगातार एमाले अध्यक्ष रहिरहेका थिए।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएकाे थियाे भने ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बनेका थिए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.