बिनिता सुनार/ताण्डव न्यूज ।
पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँहरुमा सार्वजनिक शौचालयनिर्माण गर्ने भएको छ । पछिल्लो समय पोखरामा मानिसहरुको चाप चाप बढेसँगै महानगरले १२ वटा सार्वजनिकशौचालयनिर्माण गर्ने योजना बनाएको हो । अघिल्लो वर्ष १० स्थानमा स्मार्ट सार्वजनिक शौचालय बनाउने योजना सफल नभएपनि यस वर्ष भने जसरी बनाउने योजनामा महानगर रहेको छ । अघिल्लो वर्ष मापदण्डलाई कारण देखाउँदै १० ठाउँमा सार्वजनिक शौचालय बनाउने योजना तुहिएको थियो । यो वर्ष सबै समस्या सुल्झिएकोले १२ ठाउँमा शौचालय बनाउने तयारी सुरु भएको पोखरा महानगरपालिकाका इन्जिनियर धुव्र भट्टराईले जानकारी दिए ।
‘हामीले यो योजना अघिल्लो आर्थिक बर्षमा नै सुरु गरेका हौँ,’ इन्जिनियर भट्टराइले भने, ‘अघिल्लो वर्ष विभिन्न वडाहरुमा जग्गा विवाद र मापदण्डका समस्याहरु देखियो । तर, यो वर्ष सबै समस्या हल गरेर यो बर्ष सार्वजनिक शौचालय निर्माण गर्न महानगर अघि बढेको छ ।’ अब बन्ने सार्वजनिक शौचालयहरु अपांगमैत्री हुने उनको भनाई छ । ‘पोखराकाविभिन्न ठाउँमा निर्माण हुनलागेका सार्वजनिक शौचालयहरु पूर्ण रुपमा अपाङ्गमैत्री हुनेछ । सबैठाउँमा महिला, पुरुषको लागि छुट्टाछुट्टै शौचाल यसमेत निर्माण हुनेछ,’ भट्टराइले ताण्डव न्यूजसँग भने ।
इन्जिनियर भट्टराइका अनुसार पोखराको वडा १ मा हरिचोक, वडा ६ मा हल्लनचोक, वडा ७ मा मालपोत कार्यालय, वडा १७ मा डेभिजफल र दोबिल्ला, वडा १८ मा न्याउरिङ पहरा नजिकै, वडा १९ मा पुरनचौर र वडा कार्यालय, वडा २६ मा राखि डाँडा, वडा २८ मा रत्नशोभा उच्चमाविमा सार्वजनिक शौचालय निर्माण हुने योजना रहेको छ ।
महानगरकाअनुसार वडा ७ मालपोत कार्यालय र वडा २६ को राखिडाँडामा सार्वजनिकशौचालयनिर्माण भइसकेका छन् । विभिन्न स्थानहरुमा निर्माण हुने शौचालय १० लाख देखि ४८ लाख सम्मको लागतमा निर्माण हुनेछ ।
अझै कार्यान्वयन भएन प्रदेश सरकारको निर्णय
गण्डकी प्रदेश सरकारले प्रदेशका सबै नगरपालिकामा शौचालय बनाउने निर्णय गरेको एक वर्ष भइसक्यो । शौचालय निर्माणका अघिल्लो वर्षको कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि पारित गरेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयले हरेक नगरपालिकामा शौचालय बनाउन १० लाख रुपैयाँ छुट्याएको छ । ६० प्रतिशत प्रदेश सरकारले र बाँकी ४० प्रतिशत रकम सम्बन्धित नगरपालिकाले ब्यहोर्ने गरी निर्णय भएको थियो । एक वर्ष अघि नै निर्णय भएपनि देशकै ठुलो महानगर समेत रहेको पोखराले बल्ल प्रक्रिया अघि बढाएको छ । गण्डकीको पोखरा महानगरबाहेकका नगरपालिकाहरुको पनि हालत उस्तै छ ।
नगरपालिका र मन्त्रालयको गरि एउटा शौचालयमा १६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ खर्च हुनेछ । यसमा ६ लाख ६६ हजार रुपैयाँ नगरपालिकाको भागमा पर्छ । प्रति शौचालयमा मन्त्रालयले १० लाख छुट्याएको छ । यो दरले मन्त्रालयले २६ नगरपालिकामा शौचालय बनाउन २ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ ।
नगरपालिकाले भने ४० प्रतिशतको दरले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको दरले १ करोड ७३ लाख ३३ हजार रुपैयाँ खर्च गर्नेछन् । मन्त्रालय र नगरपालिकाको गरि कुल २६ वटा शौचालयमा ३ करोड ३३ लाख रुपैयाँ बजेट खर्च हुनेछ । मन्त्रालयले पोखरा महानगरपालिकासँग ६०÷४० को लगानीमा स्मार्ट शौचालय बनाउनेछ । स्मार्ट शौचालयमा मन्त्रालयको ६० प्रतिशतका दरले ५० लाख र महानगरको ४० प्रतिशत रकम ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कुल ८३ लाख ३३ हजार रुपैयाँको लगानी हुने जनाइएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.