www.tandavnews.com
Fact ~ In search of truth

देशमै पहिलोपटक पोखराका अपांगता व्यक्तिलाई डिजिटल परिचयपत्र

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अपांगता भएका व्यक्तिलाई देशमै पहिलोपटक डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ । गाउँपालिकामा रहेको अपांगता समन्वय समिति र राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशको सहकार्यमा व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो ।

गाउँपालिकाले गत कात्तिक १७ देखि २४ गतेसम्म नौ वटै वडामा शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरूको विवरण संकलन गरेको थियो । सोही आधारमा दर्ता भएका आवेदनमध्येबाट सोमबारदेखि ४५६ जनालाई डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरुआत गरिएको हो ।

Batas

पूर्ण अशक्त रातो रङको परिचयपत्र प्राप्त गर्ने १०८ रहेका छन् । पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो तथा मध्यम र सामान्यलाई पहेँलो र सेतो परिचपत्र तयार गरिएको छ । परिचयपत्रका आधारमा सार्वजनिक यातायात, स्वास्थ्य सेवालगायतमा उनीहरूले सहुलियत तथा सुविधा पाउँदै आएका छन् ।

गाउँपालिकाको वडा नं १ मा ४५, २ मा ७०, ३ मा ४७, ४ मा १०३ र ५ मा २४ अपाङ्गता भएका व्यक्ति रहेका छन् । त्यसैगरी वडा नं ६ मा ४८, ७ मा ५४ तथा वडा नं ८ र ९ मा ३० र २३ रहेको समन्वय समितिका संयोजक एवं गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताए ।

महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले नेपालमै पहिलोपटक माछापुच्छ्रे गाउँपालिकाबाट डिजिटल परिचयपत्र वितरण शुरु भएको बताए । उनले यसअघि देशका कुनै पनि पालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको जानकारी महासंघमा नरहेको बताउँदै प्रथमपटक शुरुआत भएको उल्लेख गरे ।

गाउँपालिकाले अपांगता भएका व्यक्तिको सवालमा चासो दिएकै कारणले सहकार्यमा माछापुच्छ्रेबाट गुणस्तरीय डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरु भएको बताउँदै उजले यसबाट अपांगता भएकालाई आवश्यक नीति निर्माणमा समेत सघाउ पुग्ने उल्लेख गरे ।

गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ४ बमोजिम स्थानीय तहलाई प्राप्त अधिकारबमोजिम तथ्यांक संकलन गरी परिचयपत्र वितरण गरिएको जानकारी दिए।

उनले रातो परिचयपत्र भएकालाई राज्यले हाल मासिक तीन हजार प्रदान गर्दै आएबाट रातो परिचयपत्रका लागि नागरिकको जोड रहने गरे पनि सेतो र पहेँलो परिचयपत्र हुनेले राज्यबाट बढी अवसर प्राप्त गर्ने बताए । परिवारमा एक अपांग व्यक्ति हुँदा त्यसले सम्पूर्ण परिवारलाई नै प्रभावित पार्ने भएकाले अपांगता हुन नदिन प्रयत्न गर्नुपर्नेमा उनको जोड थियो ।

सामाजिक विकास समितिका सभापति दुर्गाबहादुर क्षेत्री तथा वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले अपांगता भएकालाई हेर्ने दृष्टिकोणमा परिर्वतन जरुरी रहेकामा जोड दिँदै अपांगमैत्री संरचना निर्माण तथा उनीहरूको सवालमा सधैँ सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.