www.tandavnews.com
Fact ~ In search of truth

जाजरकोटःराति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

जाजरकोट ।

भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन् । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए । घरमा गएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम उनीसँगै गएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बसे । अहिले उनीहरु दैनिक ज्यामिरे ओडारबाट आएर दिउँसो घरमा सामाजिक दूरी कायम गरी मल बोक्नेदेखि घरायसी काम गरिरहेका छन् ।

गाउँघरभन्दा नजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले जानकारी दिए । पिपे गाउँकै टार्जन पुनको सातजनाको टोली पनि बैतडीबाट काम गरेर ‘लकडाउन’कै समयमा घर फर्केलगत्तै पिपेस्थित अर्को ओडारमा बसिरहेका छन् । वडा कार्यालयले व्यवस्था गरेअनुसार सो टोली आफूले रोजेरै ओडारमा बसिरहेको टार्जन पुनले जानकारी दिए । अहिले दिनमा सामाजिक दूरीका साथ गोठबाट खेतबारीमा मल बोक्ने राति भएपछि सातजनाको टोली ओडारमा गएर बस्ने गरेको स्थानीय पत्रकार सहदेव बस्नेतले जानकारी दिएका छन् ।

Batas

‘खेतबारीमा मल नबोक्ने हो भने बाली सप्रिँदैन, अर्को वर्ष के खाने रु’ टार्जनले भने, ‘हामी राजी, खुशीका साथ राति ओडारमा बस्छौँ । बिहान खाना खाएर नियमित सामाजिक दूरीका साथ घरमा गएर काम गछौँ ।’ चौध दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरुको भनाइ छ ।

अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरु राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दूरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ । कसैले घरमा गहुँ भित्र्याउने काममा जुटेको पाइएको छ भने कतै मकै रोप्ने काममा लागेको देखिन्छ । अहिले धानको बीउसमेत राख्ने समय भएकाले खेतमा समेत देख्न सकिन्छ ।

जिल्लामा धेरै मानिस भित्रिएका कारण क्वारेन्टाइन भरिभराउ भएसँगै ओडारमा समेत व्यवस्थापन गरिएको स्थानीय सरकारले बताएका छन् । जिल्लाभरि रहेका विद्यालय क्वारेन्टाइनका लागि मुख्य थलो भएका छन् । विद्यालयका डेष्क, बेन्च हटाएर सामाजिक दूरी कार्य गरी बाहिरबाट आएका मानिस राखिएको छ । भेरी नगरपालिकाले सदरमुकामस्थित त्रिभुवन माविलगायत विद्यालयका क्वारेन्टाइन बनाएका छ ।

नलगाड नगरपालिकाले त्रिभुवन मावि दल्लीलगायत अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरेर मानिस व्यवस्थापन गरेको छ । त्यस्तै बारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य मावि लिम्सा, सरस्वती मावि सिलिङ्गीचौरदेखि अन्य सबै वडामा रहेका विद्यालयमा क्वरेन्टाइन निर्माण गरी १७६ जनालाई क्वारेन्टाइनमा राखेको छ ।

छेडागाड नगरपालिकाले पनि विद्यालयमा नै व्यवस्थापन गरेको बताएको छ । शिवालय गाउँपालिकाले पायक पर्ने विद्यालयमा नै व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

जुनिचाँदे गाउँपालिकाले सबै वडामा रहेका नजिकका विद्यालयमा क्वारेन्टाइन बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । उनले खाद्यान्न, अन्य औषधि, डाक्टर जान र आउन सक्ने सजिलो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको बताए । जिल्लाका सबैभन्दा बढी बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, भेरी नगरपालिकाका मानिस ‘लकडाउन’को समयमा बाहिरबाट बढी आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा दुई हजारभन्दा बढी मानिस जिल्लामा भित्रिएका छन् । अझै देशका विभिन्न ठाउँमा अलपत्र परेका मानिस सांसद एवं मन्त्रीको पहलमा जिल्लामा भित्रिने क्रम जारी रहेको छ ।

जिल्लामा अहिलेसम्म ५०० द्रुत परीक्षणका लागि किट आए पनि क्वारेन्टाइनमा बसेका ४५० जना मानिसको कोरोना भाइरस जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । विदेशबाट आएकालाई पहिलो प्राथमिकता बनाएर जाँच गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

जिल्लामा अझै एक हजार ५०० किट आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए । हालसम्म कर्णाली प्रदेशका कुनै जिल्लामा पनि कोरोनाबाट संक्रमण भएको व्यक्ति फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.