www.tandavnews.com
Fact ~ In search of truth

फेक आइडीमा झाङ्गिँदो अश्लील हर्कत

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज । 

‘ओइ ! तैले अर्काे आइडी पनि चलाउछस् ?’ म्यासेन्जरको घण्टीसँगै मिल्ने साथी सियोनाको म्यासेज आउँछ अनुतालाई । सामान्यतया अहिलेका फेसबुक युजरले दुई वडा आइडी बनाउनु नौलो भएन् । एउटा आइडी परिवार र अर्को आइडी साथीहरुको लागि बनाउनु स्वभाविकै हो भन्ने ठानेर सियोनाले पनि सामान्य लिइन् ।

सियोनाको म्यासेज हेर्ने वितिकै अनुताले सिधा ‘नाइँ चलाउँदिन’ भनेर प्रतिउत्तर दिइन । ‘किन के भयो र त्यस्तो ?’ अनुताले प्रश्न गर्छिन, ‘तेरो अर्को आइडीबाट फ्रेन्ड रिक्वेस्ट आको थियो मैले त एसेप्ट गरे नि ।’ सियोनाको कुरा सुनेपछि उनी एक छिन अलमल पर्छिन् । ‘मेरो नामको होला अरु कोही,’ अनुताले प्रश्न गर्छिन्, ‘होइन यार तेरो फोटोहरु छन् ।’

अनुताले भने फेक आइडी भन्ने चाल पाउँछिन् अनि रिसाएको स्टिकर (इमु) सेन्ड गर्छिन् । सोही अनुरुप वार्तालाप निकै बेरसम्म चल्छ अन्त्यमा त्यो आइडीबाट अपरिचित व्यक्तिको अश्लील तस्विरहरु समेत उनीहरुका साथीहरुलाई सेन्ड गरिएको कुरा खुल्न आउँछ । अनुताको चरित्र हत्या गर्ने हेतुले अपरिचित व्यक्तिले त्यो आइडी चलाइरहेको प्रष्ट हुन्छ ।

उनीहरु दुबै मिलेर केही दिनपछि जिल्ला प्रहरी कार्यालय कास्की पुग्छन् । अनुताको फेक आइडी चलाउनले व्यक्तिलाई कारवाही गर्न माग गर्दै निवेदन बुझाउँछन् । कास्की प्रहरीको कार्यालयमा अनुताको जस्तो निवेदन चाङ लागिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राज कुमार केसीका अनुसार पछिल्लो एक वर्षमा २ सय १६ निवेदन रहेको छ । उनले सो मध्ये १ सय ५० महिला र ६६ पुरुषको निवेदन रहेको बताए । ‘यस्ता निवेदनहरु अधिकांश टिनएजर्सहरुको मात्रै परेका छन्,’ उनले भने, ‘यी त लिखित भए मौखिक त हामीले यहीबाटै समाधान गरेर पठाउने गरेका छाँै ।’

केसीले कास्कीमा साइबर क्राइम अन्तर्गतका मुद्दाहरु दर्ता गर्न नमिल्ने बताउँदै काठमाडौं जिल्ला अदालतमा दर्ता हुने जानकारी दिए । उनले त्यस्तो प्रकारको घटनाको अनुसन्धान गर्न मिल्ने बताउँदै केही प्रतिशत केसहरु सल्टाइसकेको उल्लेख गरे ।

उनका अनुसार जिल्लामा परेको निवेदनमा विशेषगरी फेक आइडी बनाई सोही सर्कलको साथी आफन्तलाई पहिला फेसबुकमा साथी बनाएर हर्कत गर्ने उल्लेख भएका छन् ।

फेक ‘आइडी बनाएर साथीको चरित्र हत्या गर्ने प्रकृतिको च्याटिङ गर्ने, गाली बेइजेती गर्ने अरुको पोस्टमा अश्लील कमेन्ट गर्ने गरेको पाइएको छ,’ केसीले भने, ‘यति मात्र नभएर अपरिचित व्यक्तिको नाङ्गो फोटो र अश्लील भिडियोहरु सेन्ड गर्ने गरेको पाइएको छ । ११ र १२ पढ्ने भर्खरका नानी बाबुहरुमा यो समस्या देखिएको छ । सबैलाई भन्न खोजेको होइन । यसप्रति अभिभावक पनि सचेत रहन जरुरी देखिन्छ ।’

डिएसपी केसीले टिनएजर्स जानी नजानी अपराधमा संलग्न भैरहेको बताउँदै बच्चाका बुवा–आमाले पनि ध्यान दिनपर्ने बताए । ‘छोराछोरी भनेको बा आमाका प्रतिबिम्ब हुन् छाँया हुन् बा आमा जता गयो, जे ग¥यो नानाीबाबु पनि त्यही नै गर्छन्’ उनले भने, ‘त्यसैले बन्द कोठामा छोरा छ भनेर बा आमा मख्ख पर्न आवश्यक हँुदैन भित्र के गरिरहेको छ, कुन कुरामा लिप्त छ भन्ने कुराको हेक्का राख्नुपर्छ ।’ उनले सामाजिक प्रयोगकर्ताहरुलाई आफू सचेत हुन सुझाव दिन्छन् । अरुको सेटमा युज गर्न भएन, गरेपनि तुरुन्त लग आउट गर्नुपर्ने उनी सुझाउँछन् ।

‘समय समयमा पासवर्ड परिवर्तन गर्नु राम्रो हुन्छ,’उनले भने, ‘प्रायले आफ्नै नामको, मोवाइल नम्बरको र जन्ममिति जस्तो सजिलै अन्दाज लगाउन मिल्ने खालको पासवर्ड राख्नुहुन्छ यो सेकुरेटीको हिसाबले बलियो हुँदैन । त्यसैले यस्तो कुराको ख्याल राख्नुपर्छ र अपरिचित ब्यक्तिको रिक्वेस्ट एसेप्ट नगर्नु राम्रो । गरेपनि कुन तह सम्म कुरा गर्ने त्योपनि हेक्का राख्नुपर्छ ।’

उनले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न विद्यालय तथा सङ्घ संस्थाहरुसँग सहकार्य गरेर साइबर क्राइम अन्तर्गतको आपराधिक घटना र मुद्दाको बारेमा सचेतनामूलक कार्यक्रमहरुको आयोजना समेत गरेको उल्लेख गरे ।

डिएसपी केसीले केही प्रतिशत बिवाह बन्धनमा बाँधिसकेका र प्रेममा पर्नेहरुमा पनि यस्तो प्रकारको समस्या रहेको बताए । ‘सम्बन्ध राम्रो हँुदा सबैकुराको सामिप्यता हुन्छ,’ उनले भने, ‘अनि सानो कुरामा असमझदारी पैदा भएपछि बिगतमा कैद गरिएका आफ्नो प्रेमी वा प्रेमीकाको नग्न तस्विर वा भिडियोहरु विभिन्न सोसल साईटहरुमा सार्वजनिक गर्ने जस्ता आपराधिक क्रियाकलापमा संलग्न हुने अनुसन्धानले देखाउँछ ।’

पछिल्लो समय इन्टरनेटको लोकप्रियतासँगै जटिलता पनि पैदा भएको डिएसपी केसीको बुझाइ छ । ‘इन्टरनेटमा गिट्टि, बालुवा, ढुङ्गा माटो सबैथोक छ बनाउन जानियो भने सानदार घर बन्छ नत्र कच्चापदार्थ मात्रै सीमित रहन्छ,’ उनले भने, ‘जुनसुकै चिजको पनि प्रयोग र सदुपयोग गर्न जान्नुपर्छ ।’

उनले फेसबुकसँगै अन्य केही सोसल साइटमा पनि यस्ता प्रकारका घटना उल्लिखित निवेदन परेको जानकारी दिदँै कास्कीको नयाँ कमान्ड प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले संहाले पश्चात साइबर क्राइम अन्तर्गत पछिल्लो समयसम्म ४० लिखित निवेदन परेको बताए ।

उनका अनुसार ४० मध्ये २१ केस समाधान भैसकेको छ भने बाकी ११ केसको अनुसन्धान भैरहेको छ । फेक आइडीमार्फत ब्ल्याकमेल गरेको भएतापनि व्यक्तिगत इज्जतको लागि मुद्दा दर्ता नगरेको पाइएको छ । मुद्दा दर्ता गरेपछि कानुनी प्रक्रियामा जानुपर्ने र विशेषगरी अभिवाहित नारीहरुलाई समस्या पर्ने भएकाले मौखिक रुपमा जिल्ला प्रहरी कार्यालयलाई पीडितहरु गुहार्ने गरेका छन् । त्यसो त कास्की प्रहरीले त्यस्ता खालका केसहरुलाई सहजै सल्टाइदिने गरेको छ ।

अश्लील भिडियोको आडमा सिधा बार्गेनिङ

अञ्जानमा विदेशी केटीसँग फेसबुकमा साथी बन्न पुग्छन् अनित । रिक्वेस्ट पनि उनकै, म्यासेन्जरमा पहिलो हेल्लो पनि उनकै थियो । उनी थिइन् फिलिपिनी केला नामकी युवती ।

उनको स्थायी घर फिलिपिन्स रहेपनि बैदेशिक रोजगारका लागि मलेसियामा काम गर्ने गरेको अनित सुनाउँछन् । लगातार तिन महिनासम्म औपचारिक कुरा हुन्छ । बिस्तारै सम्बन्ध नजिक भएको महसुस भएपछि भिडियो कल समेत हुन पुग्यो । प्रत्येक दिन च्याटिङ वा भिडियो कल मार्फत कन्ट्याक्ट हुँदै गयो ।

एकदिन राती भिडियो कलमा ‘डु यु वान्ना ह्याभ सम फन’ ? भनेर अनितलाई प्रश्न ठड्याउँछिन् । प्रतिउत्तरमा जवाफिन्छन् ‘ह्वाइ नट’ । त्यसपछि केलाले ब्यान्डिक्याम नामक स्क्रिन रेकर्ड सफ्टवेरको सहायतामा भिडियो कलसँगै रेकर्डमा उतार्छिन् तर अनितलाई पत्तो हँुदैन ।

अनित आफ्नै सुरमा केलाको अश्लील क्रियाकलाप हेर्नमै लिप्त हुन्छन् र केलाले आफूले जस्तै गर्न अनितलाई भन्छिन अन्त्यमा अनित चुक्छन् ।

अनितलाई त्यस्तो क्रियाकलापबारे केही हेक्का हुँदैन । अर्काे दिन बिहानै नोटिफिकेशनको टिङटिङ आवाजले अनितलाई ब्युझाउँछ । ‘केला सेन्ट अ भिडियो’ लक भएको माबाइलको स्क्रिनमा यति मात्र देखिन्छ । जाँगर लगाएरै खोलेर हेर्छन् अनि चकित पर्छन् त्यो भिडियो देखेर ।

उनी चकित मात्र पर्छन् त्यतिकैमा अर्काे म्यासेज आउँछ, ‘यो भिडियो सार्नजनिक गराँै की ५ सय डलर पठाउँछौ ?’ अश्लील भिडियोको आडमा सिधा पैसाको बार्गेनिङ सुरु हुन्छ । अनितले केही सम्झिन सक्दैनन् मात्र नेपाली ५० हजार जोहो गर्नमात्र ध्यान दिन्छन् ।

केलाले उनलाई ३ घण्टा समय दिएकी हुन्छिन् । अनितले साथीभाइलाई फोन गरेर आकस्मिक पैसा चाहिएको भन्दै गुहार्छन् । बिहान १० बजे मात्रै आइएमइ खुल्ने भएकाले साथीहरुले केही समय पर्खन भन्छन् ।

त्यो समयमा उनलाई केलाले के गर्दै हो भन्दै म्यासेज गर्छन् र अनितले पैसा पठाउन जाँदै छु भन्दै बाटोको तस्विर पाठाउछन् तर उनी भने मिल्ने साथीलाई गुहार्न पुगेका हुन्छन् । साथीलाई उनले सबै कुरा खोल्छन् ।

त्यो समयमा केलाले फोन गरिरहन्छन् तर अनितले भने फोन रिजेक्ट गरी काम हँुदैछ भन्दै टेक्स्ट गर्छन् । साथीसँग ‘म त्यस्तो गर्ने मान्छे नै होइन तर हिजो के भयो के भनेर आत्मग्लानी गर्छन्’ उनको साथीले धैर्य गर भन्दै सुझाउँछन् यसको विकल्प पैसा पठाउनु होइन, फेरि अर्काेपटक पैसा पठा भन्ला भिडियो त त्यैसँग नै छनि त्यही भएर अब प्रहरी कार्यालय जानुपर्छ भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुग्छन् ।

त्यहाँ गएपछि मौखिक निवेदन दिन्छन् र घटनाक्रम खुलाउँछन् । प्रहरी कर्मचारीले बुझ्छन् केला जस्ता कयौं पेसेवरले नेपाली युवाहरुलाई ठगेको भन्दै आफँै सचेत हुनुपर्ने सुझाब दिन्छन् । उक्त केसको समाधान गरिदिन्छन् । (परिवर्तित नाम)

साइबर क्राइम !

साइबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्छन् । यसलाई हेर्ने र रोकथाम गर्न ल्याईएको कानुन साइबर कानुन हो ।

नेपालको विद्युतीय कारोबार ऐनले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर भनी परिभाषा गरेको छ ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।

कम्प्युटर, मोवाइल वा कुनैपनि विद्युतीय प्रविधिको प्रयोग मार्फत गरिने अपराधिक क्रियाकलापलाई साइबर क्राइम अन्तर्गत छुट्टै कारवाही चलाउँछ । कसैलाई सामान्य र रमाइलो लाने कतिपय गतिविधि सामाजिक सञ्जालमा बञ्चित छ ।

जस्तो कुनै हिंस्रक तस्विर पोस्ट गर्नु, अरुको मानहानी हुने खालका सामग्री राख्नु । त्यसबाहेक गाली बेइज्जती गर्ने, ब्ल्याकमेलिङ गर्ने, एकाउण्ट ह्याक गर्ने, फेक आइडी बनाएर नाजायज गतिविधि गर्ने जस्ता गतिविधि साइबर अपराध हुन् ।

यस्तो अपराध गरे विद्युतीय ऐन (साइबर कानुन) अन्तर्गत कानुनी कारबाही हुने व्यवस्था छ । साइबर क्राइम गम्भीर किसिमको फौजदारी अपराध अन्तर्गत पर्छ । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्चालमा हुने अपराध पनि यसैभित्र समेटिन्छन् । विशेष गरि पछिल्लो समय फेसबुकले गर्दा धेरै घटना घटेको पाइन्छ ।

देख्दा र सुन्दा सामान्य लाग्ने घटनाले पनि मान्छेलाई ठूलो समस्यामा पारेको नजिर छन् । धेरै जस्तो साइबर क्राइमको घटनामा मान्छे अन्जानमा पनि परेकोे पाइन्छ । फेसवुक भनेको सम्बन्ध बनाउने र विचार प्रकट गर्ने सामाजिक सञ्जाल हो । तर, पछिल्लो समय प्राय युवायुवतीले यसको दुरुपयोग गर्दा ठूलो दुर्घटनामा परेको पाइन्छ ।

जसले गर्दा पीडित र पीडक दुवैको भविष्य अन्धकार पार्न सक्छ । सामाजिक सञ्जाललाई सदुपयोग पार्नुपर्छ । यसको दुरुपयोग गर्दा आफै दुर्घटनामा परिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...