www.tandavnews.com
Fact ~ In search of truth

१९ बालबालिकाका ‘बुवाआमा’

उमा विक
पोखरा, ताण्डव न्यूज । 

२०७२ को भूकम्पले उनको आमाको प्राण पनि लग्यो । द्धन्द्धकालमै बुवा माओवादीबाट मारिएका थिए । बुवाले संसार छाड्दा उमेरले ४ वर्षका मात्रै थिए, काभ्रेपलान्चोकका अजय थामी ।

बुवा मारिएपछि आमाको सहारामा अघि बढ्दै गरेका अजय ०७२ पछि सहारा पनि गुमाए । अजय अहिले १६ वर्षका भए । कक्षा ९ मा अध्ययन गर्दैछन् । लक्ष्य, फेसन डिजाइनर ।

Batas

दिनेश पौडेल काठमाडौँका हुन् । सेफ बन्ने चाहना छ उनको । १७ वर्षीया दिनेश अहिले कक्षा १० मा पढ्दैछन् । दिनेश ४ वर्षको हुँदा उनको बुवाले सुसाइड गरेका थिए । परिवारको मेरुदण्डका रुपमा रहेका बुवा नरहेपछि दिनेशको परिवारमा आर्थिक अभाव भयो । उनको भविष्य पनि अन्धकार ।

अजय र दिनेशको भविष्य अन्धकार नै हुने थियो । ९ र १० कक्षामा अध्ययन गर्दैगर्दा डिजाइनर र सेफ बन्ने आँट पनि आउँदैनथ्यो । यदि अजय र दिनेशको भविष्यको दियो र लक्ष्यप्रति अडिक रहने साहास ‘पिस होम’ नबनिदिएको भए ।

पिस होम, शान्त घर । नाम जस्तै छ यहाँको वातावरण । अजय र दिनेशजस्तै १९ बालबालिका छन् । त्यहाँ पुग्दा देखिने उनीहरुको हँसिलो अनुहारले खुशी झल्काउँछ ।

यिनिहरु सबैलाई बाबा आमा बनेर विनोदकुमार नेपाली र सुमित्रा नेपाली सहारा दिएका छन् । विनोद र सुमित्रा नै सबैका ‘बाबा आमा’ हुन् ।

लहैलहैमा पोखरा

२०५६ सालमा जन्मथलो काठमाडौँको लेले छाडेर साथीको लहैलहैमा पोखरा आएका बिनोदलाई लागेको थिएन, आज यति धेरै सन्तानको अभिभावक बन्छु भन्ने ।

२८ वर्षको उमेरमा उद्धेश्य बिनै स –परिवार पोखरा आएका बिनोदले आमाबुवा नभएका बालबच्चालाई मात्र होइन गरिब, आर्थिक हिसाबले अति विपन्न परिवारका बालबच्चालाई पनि होममा राखेर हेरचाह गरिरहेका छन् । अहिले आमा बाबा नभएका मात्रै ७ जना छन् । जो विधिवत तरिकारले दर्ता भएका बच्चा हुन् । १३ जना अन्य बालबालिका छन् जसको परिवार त छन् तर उनीहरुलाई खान बस्न पढाउन नसक्ने अवस्थामा छन् ।

धन बिनाको मन

बिनोद पोखरा आउँदा सम्पत्तिको नाममा २ वटा थाल र एउटा प्रेसरकुकर मात्र थियो । साथमा दुई छोरी र श्रीमती । दिनमा शिक्षकको काम गर्थे भने रातमा होस्टेलमा वार्डेनको काम । यसरीनै गुजारा चलिरहेको थियो । विस्तारै सन्तान थपिए । पहिलाको कमाईले परिवार धान्न गाह्रो पर्न थाल्यो ।

अवस्था नाजुक बन्दै गयो । बिनोद दुखका ती दिन सम्झदै भन्छन् , ‘मैले स्कुल पढाएर आउने तलबले पोखरामा खान बस्न ,परिवार पाल्न गाह्रो पर्न थाल्यो ।’ त्यो बेला घरभाडा ७ सय रुपैयाँ थियो । घर भाडा खप्टिन थाल्यो, रासनको पैसा तिर्न नसक्ने अवस्था आयो । उनले आफ्नै जिल्ला काठमाडौँ फर्किने सोच बनाए । तर जाने भाडा थिएन । भावुक हुदैँ उनले सुनाए,‘ मलाई त्यो बेला ५ सय रुपैयाँ पनि कसैले पत्ताएनन् । सापट माग्दा सापट पाइन ।’

‘म सँग धन थिएन तर मन थियो । म आफै अभावमा थिए फेरि पनि अरुको अभावलाई पूरा गर्नेबारे सोच्थे,’ उनी भन्छन् । उनलाई अनाथ, विपन्न, बालबालिकाको स्याहार गर्ने मन थियो । उनले सन् २००५ मा अरफनेजको सुरुवात गरे । एउटा सानो बालक होटलमा भाडा माझ्दै गरेको अवस्थामा देखे । उनको मन थामिएन । त्यही बालकलाई घरमा ल्याएर उसको हेरचाह गर्न थाले । उनी काभ्रेपलान्चोकका थिए । माओवादी द्धन्द्धकालको समयमा उनको बाबा मारिएपछि उनले होटलमा काम गर्न बाध्य भएका रहेछन् ।

सन् २००५ सेप्टेम्बर २८ तारिखको दिन नेपालीले अर्का एक धादिङको विकट गाउँकी सानी नानीलाई ल्याएर दुई बच्चाबाट अरफनेज पिस होमको सुरुवात गरे । ‘त्यो दिन मसँग १ सय आइसि थियो, त्यो पनि मलाई एक जना दिदीले दिनुभएको थियो,’ उनी सम्झन्छन् ।

अहिले उनका केही साथीहरुले र केही संस्थाले आर्थिक सहयोग गरिरहेका छन् त्यसैले होमका बालबच्चाको गाँस ,बाँस, कपास र शिक्षामा खर्च भईरहेको छ । अहिले पहिलेको भन्दा आर्थिक रुपमा धेरै सहायता पुगेको उनी बताउँछन् । ‘पहिले घर भाडामा थियो अहिले आफ्नै भवन छ यसले केही सजिलो भएको छ,’ उनले सुनाए ।

अनाथप्रतिको लगाव

नेपालमा सन् १९९५ देखि सन २०१२ सम्म माओवादी र सरकारबीच युद्ध हुँदा धेरै बालबालिकाले आमाबाबा गुमाए ,धेरै आमाबाबाले बालबच्चा गुमाए ।

आमाबाबा त विस्तारै सेटल हुँदै गए तर बाबा आमा गुमाउने बाल बच्चाको भने बिचल्ली भएको देखेर उनको मन रोयो । उनले यस्ता बालबच्चाको हेरचाह गर्ने निर्णय गरे । अनाथ ,नांङ्गा, भोका बालबालिकामा उनले आफ्ना सन्तान देख्थे । त्यसैले उनले संस्था खोले ।

‘हामीले संस्थालाई अनाथलय भन्दापनि एउटा घरको रुपमा लिन्छौ । यो अनाथलय होइन घर हो ’ ,उनी भन्छन् । घरमा राखेका धेरै बच्चाहरुले यहिँबाट भविष्य बनाएका छन् ।

भावना होइन कागजपत्र चाहिन्छ

२०६७ सालमा बालबालिका ऐन आयो । २०६९ मा अर्को ऐन आयो । ०७२ सालमा अर्को ऐन परिमार्जित भएर आयो । विनोद भन्छन्, ‘हामीले भावनात्मक रुपमा बालबच्चालाई घरमा राख्छौँ तर सरकारले भावनालाई होइन सरकारी कागजपत्रलाई हेर्छ यो प्रोसेस लामो छ प्रोसेस गर्दा सम्म ढिला हुन्छ ।’

सरकारको नियम अनुसार १८ वर्ष भन्दा माथिकालाई घरमा राख्न मिल्दैन । १८ वर्षसम्म राखेपछि उनीहरुलाई आफन्तको जिम्मा लगाउँनुपर्छ । विनोदले घरमा राखेका ६ जना बच्चाहरु गत वर्ष पुनस्थापित भएर गए । केही पोखरामै बसेर स्कुलमा पढाइरहेका छन् ।

आत्मसन्तुष्टी

बालबच्चासँगको अनुभव सुनाउँदै उनी भन्छन् ,‘बालबच्चाहरुलाई समाल्नु गाह्रो कुरा हो, विभिन्न अवस्था क्षेत्र, जिल्लाका बालबच्चा यहाँ छन् तर उनीहरुलाई अभिभावकको माया दिएपछि बालबालिका आँफै परिवर्तन हुन्छन् ।’

होम खोलेर उनलाई कहिल्यै पछुतो लागेन किनकी उनलाई आत्मसन्तुष्टि यसैमा छ । ‘ होममा बसेर स्थापित भएका भाइबहिनीको प्रगती देखेर नै मलाई सन्चो भएको महसुस हुन्छ । मैलै गरेको काममा गर्व लाग्छ ,’ उनी भन्छन् ।

३ विद्यार्थीबाट स्कुलको सुरुवात

सामाजिक कुरामा इच्छा राख्ने विनोदले होम सञ्चालन गर्नु २ वर्ष अघि २००३ मा स्कुल खोलेका थिए । पोखराको मुटु पृथ्वीचोक भित्रको एरिया बसपार्क अर्थात सुकुम्बासी एरियामा ।

पोखराको मुटु मानिए पनि विकासका हिसाबले सुकम्बासी भनेर पिछडीएको त्यस क्षेत्रमा साना बालबालिकाले शिक्षा नपाएको, कुलतमा फसेको यस्तो विकृति देख्दा उनलाई शिक्षाको अभावमा बालबालिकाले भविष्य अन्धकार बनाएजस्तो लाग्यो । उनले अन्य विद्यालयको तुलनामा थोरै शूल्क लिई सेवा दिने साेंच गरे । सुरु गरिहाले ‘होली एन्जल बोर्डिङ स्कुल’ ।

‘३ जना बालबालिका लिएर पढाउन थालेका थियौँ, आज ३ सय ५० बढी विद्यार्थी छन्,’ विनोदले सुनाए । अहिले त्यहाँ कक्षा १० सम्म पढाई हुन्छ ।
संघर्ष गर्न छोडिन्

एनले कहिल्यैँ लक्जरियस जिवनको कल्पना गरेनन् । दुखमा परेकालाई सहायता गर्नु उनको सबभन्दा ठूलो उपलब्धि ठाने ।

‘मैले कहिले संघर्ष गर्न छोडिन, दुखमा आत्तिइन् धैर्यता राखे,’ उनी भन्छन्,‘ सर्घष गरे सफलता आफैमा रहिछ । अझै संघर्ष गर्न छोडेको छैन । पहिला सानो कुराको लागि संघर्ष गर्नुपथ्र्यो भने अहिले पहिलाका भन्दा ठुला चुनौतीको लागी संघर्ष गर्दैछु ।’ उनको अब वृद्धवद्धाको क्षेत्रमा काम गर्ने मन छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.