www.tandavnews.com
Fact ~ In search of truth

चिसो बढेपछि पोखरा झरे उपल्लो मुस्ताङका विद्यालय

मुस्ताङ ।

चिसो बढेसँगै उपल्लो मुस्ताङका विद्यालय रित्तो हुन थालेका छ । देशभर चिसो बढेसँगै हिमाली जिल्ला मुस्ताङमा अब हिउँ पर्ने र घरबाहिर निस्कन समेत मुश्किल हुने भएकाले मुस्ताङका विद्यार्थी र विद्यालय पोखरा झर्न थालेसँगै विद्यालय खाली हुन थालेको हो ।

कात्तिक महिनाको मध्य तथा अन्त्य तिरबाट चैतसम्म मुस्ताङमा खपी नसक्नुको चिसो हुन्छ। यही कारण यस वर्ष उपल्लो मुस्ताङमा रहेका विद्यालयहरू घुम्ती विद्यालयका रूपमा बेसी झरिसकेका छन्।

२० वटा विद्यालय पाँच महिना पोखरामा चिसो छल्नका लागि सामुदायिक र गुम्बा गरेर २० वटा विद्यालयहरू अबको ५ महिना कास्कीको पोखराका विभिन्न ठाउँहरूमा सर्ने गरेका छन्।

मुस्ताङमा हुने अत्यधिक चिसोका कारण बालबालिकाहरूलाई न्यानोको लागि घुम्ती विद्यालयमा सार्ने गरिएको छ। त्यो बाहेक चिसो याममा मुस्ताङका नागरिकहरू बेसी झरेर व्‍यापार गर्दै तातो समयका लागि पैसाको जोहो गर्छन्। चिसोमा गाउँमा बस्न नसकेको फाइदा उठाउँदै उनीहरूले व्यापार गर्छन्।

उपल्लो मुस्ताङमा पर्ने लोघेकर दामोदरकुण्ड गाउँपालिका, लोमान्थाङ गाउँपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका विद्यालयहरू मात्र घुम्ती विद्यालयको रूपमा सञ्चालन हुने गरेको छ।लोमान्थाङअन्तर्गत साबिकको छोन्हुप गाविसमा कक्षा १ देखि ३ सम्मको पठन पाठन गर्ने ६ वटा विद्यालय पोखराको हेम्जास्थित आफ्नै भवनमा सरेर विद्यालय सञ्चालन गरेका छन्।

छोसेरमा रहेको दिब्यज्योती मा.वि. बिजयपुर ब्यारेकको पछाडि रहेको आफ्नै भवनमा सरेको छ। बालकल्याण, राष्ट्रिय र समजुङ आधारभूत विद्यालय बेगनास ताल क्षेत्रमा रहेका आफ्नै भवनमा सरेका छन्। पाल एवं नामग्याल गुम्बाले भकुण्डेमा, निफुक नामडोल गुम्बा चाउथेमा र मञ्जुश्री गुम्बाले बिरौटामा विद्यार्थी सारेका छन्।

यस्तै, लोघेकर दामोदर कुण्डका ८ ओटा सामुदायिक विद्यालयहरूमध्ये कक्षा १ देखि ३ सम्म सञ्चालन हुँदै आएका ६ ओटाले गगनगौँडामा एकै ठाउँमा विद्यालय सञ्चालन गरेका छन् भने जनज्योती र घमी आधारभूत विद्यालयले तनहुँको दुलेगौँडामा संयुक्त कक्षा सञ्चालन गरिसकेका छन्।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका २ विद्यालयहरू जननर्मल आधारभूत विद्यालय बिजयपुर नजिकै रहेको डाँडाको आफ्नै भवनमा सरेको छ भने मुक्तिनाथ आधारभूत विद्यालय डेभिस फल नजिकै जाने गरेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.