www.tandavnews.com
Fact ~ In search of truth

नवौँ राष्ट्रिय खेलकुदः करातेमा गण्डकी र सेनालाई समान तीन–तीन स्वर्ण

पाेखरा।
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेमा आयोजक गण्डकी प्रदेश र विभागीय नेपाली सेनाले तीन–तीन स्वर्ण पदक जितेका छन् ।

यसैगरी सशस्त्र प्रहरीले दुई स्वर्ण, मधेस प्रदेश, नेपाल प्रहरी र बागमती प्रदेशले समान एक–एक स्वर्ण हात पारेका छन् । पोखराको नयाँबजारस्थित प्रदर्शनी हलमा शनिबार राति सम्पन्न खेलमा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो । करातेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा प्रतिस्पर्धा गराइएको हो ।

यसैगरी सेनाले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जिते। गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी उनले स्वर्ण हात पारेका हुन्।

Batas

सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने। नेपालीले रजत पदकमा चित्त बुझाए। पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा सेनाका सनी सिंहले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण पदक हात पारे। भुजेलले रजत पदक जिते। पुरुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल सेनाका विकास गुरुङले रजत पदक जिते।

पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए। यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जिते। बागमतीका राईले रजतमा चित्त बुझाए।

यसैगरी ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले सेनाका राजकुमार यादवलाई पराजित गरी स्वर्ण पदक जितेका छन्। पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले सेनाका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जित्दा थिङले रजत पदकमा चित्त बुझाए।

महिलातर्फको खुला तौल समूहमा सेनाका मञ्जु विकले बागमती प्रदेशका निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिइन्। यसैगरी ५०–५५ केजी तौल समूहमा गण्डकीका धनी रानामगरले सेनाका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन्।

यसैगरी ४५–५० केजी तौल समूहमा बागमती प्रदेशका नवीना धमालले सशस्त्र प्रहरीका करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदकमा चित्त बुझाइन्। ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका रीना माझीले नेपाल प्रहरीकी अञ्जना ढुङ्गेललाई पराजित गरी स्वर्ण पदक जितिन्।

महिलातर्फको ३५–४० तौल केजी समूहको खेल भने स्थगन भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगन भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए। विवादका कारण शनिबार दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए । प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एनआएनए गरी ११ टिम सहभागी भएका थिए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.