माधब भुसाल
पाेखरा,ताण्डव न्यूज ।
डी वलेन, नेदरल्याण्डस्थित एम्सटर्डममा रहेको प्रख्यात रेड लाइट एरिया । करिब तीन सय बढी कोठाहरुमा यौन स्वाद पस्किरहन्छ यो एरियाले, कानुनी रुपमै ।
यहाँको व्यापार यतिमा मात्रै सिमित छैन । डी वलेनले मरिजुआना पनि चखाउँछ । सेक्स म्युजियम, सेक्स थिएटरले पनि पर्यटकलाई आकर्षित गर्छ । यी गतिविधिका कारण, नेदरल्याण्डमा सेक्स टुरिजमको हब ‘डी वलेन’लाई लिन सकिन्छ ।
डी वलेनबारे जानकारी गराउनुको स्वार्थ पोखराका केही स्ट्रीट अर्थात् गल्लीहरुसँग साक्षात्कार गराउनु हो ।
कुनै समय पोखराको बागलुङ बसपार्क भन्ने वित्तिकै यौन प्यास मेट्ने थलोको रुपमा चिनिन्थ्यो । कानुनले इजाजत नदिएपनि अघोषित रेड लाइट एरियाको उपाधि पाएको यौन रंगिन मैदान थियो बसपार्क ।
नाम भन्न पनि कानेखुसी गर्नुपर्ने अवस्था थियो । कारण, त्यहाँ बस मात्रै पार्क हुन्थेनन् । होटल, रेष्टुरेण्ट, ब्यूटी पार्लर लगायतका पसल छेउ अथवा भित्र यौन व्यापारकालागि युवतीहरु पार्किङमा बस्थे । बस पार्कमा बसले यात्रु कुरे जस्तै ।
अहिले बागलुङ बसपार्क भन्न कानेखुशी गर्नुपर्दैन । बसपार्कले आफूलाई यौनबजारको पर्यायबाट चोख्याइसकेको छ । केही ह्याङ्गओभर भने अझै बाँकी पनि होला ।
अहिले पोखराका केही चोक र गल्लीहरुमा यौनकर्मीहरु खुलेआम ग्राहक खोजिरहेको पाइन्छ ।
ग्राहकको खोजी
पोखरा बजारको इन्ट्री पोइन्ट हो पृथ्वी चोक । बिहान देखि साँझसम्म पोखरा इन्ट्री हुने स्थानीय वा पर्यटक जो कोहीले देख्ने दृश्य एकै खालको हुन्छ, प्रायः । केही फलफुल पसल, मासु पसल, होटल, फेन्सी, बसको टिकट काउन्टर आदि इत्यादी ।
पृथ्वीचोकदेखि सभागृह हुँदै सिर्जना चोकसम्मको दृश्यमा यीनै गतिविधि अटाइरहेका छन् ।
जब साँझ छिप्पिन्छ, यो एरियाले आफ्नो रुप फेर्छ । प्रस्तुत गर्न खोजिएका गतिविधी सुरु हुने समय ९ बजेपछि हो । हो, घडिले ९ बजाएपछि यहाँको माहौल अर्कै देखिन्छ ।
ट्राफिक प्रहरी कार्यालय कास्कीको नजिकै एक दोहोरी रेष्टुरेण्ट सञ्चालनमा छ । बाहिर मेन रोडसम्मै सुनिने गरि लोक र आधुनिक गीत दिनहुँ घन्किरहन्छ त्यहाँ । कहिले मदिरा र संगीतप्रेमीको गह्रौं उपस्थिती रहन्छ त कहिले फिक्का फिक्का । तै पनि गीत गाउने र बजाउनेहरु आफ्नो कर्म गरिरन्छन् । दोहोरी साँझ हुनु नौलो कुरा भएन ।
यहाँ नौलो यो पनि छैन अहिले, यौन व्यापार । सबै युवतीहरु नै हुन्छन् । कोही कुर्था सुरुवाल, कोही टी सर्ट पाइन्ट र कोही वन पिस ड्रेसमा मेक अप सहित सजिएका हुन्छन् ।
केहीले कानमा एअरफोन लगाएको देखिन्छ । गीत बजेको नबजेको उनीहरुलाई नै थाहा होला । मुखमा चुइगम भएरै होला, प्याट् प्याट् पड्काएको आवाज पनि सुनिन्छ ।
एउटै एरियामा ओहोर–दोहोर चलिरहन्छन् यिनीहरु । यता ट्राफिक कार्यालय, उता सभागृह चोक । ओहोरदोहोर गर्नुको उद्धेश्य पैसावाला यौन प्यासी ग्राहक खोज्नु हो ।
कुनै–कुनै ग्राहकहरु सिधै सम्पर्क गर्छन् यिनिहरुलाई । बाटोमै चिनेर, बार्गेनिङ हुन्छ । बार्गेनिङ रेट ५ हजारबाट सुरु भएर २ हजार सम्ममा कम्प्रमाइज भएपछि ट्याक्सी वा बाइकमै हुँइकिन्छन् ।
अर्काथरी ग्राहक ट्याक्सीवालाको सहयोग माग्छन् । ट्याक्सीवालाले भएसम्म त्यहिको नभए, बाहिर फोन गरेरै भएपनि मिलाइदिन्छन् । फ्रि मै काम गर्दिने त को हुन्छ र । कमिसनमा पहिले नै बार्गेनिङ भइसकेको हुन्छ यौनकर्र्मी र ट्याक्सीवालाबिच ।
सेक्स अन अ मिनेट
माथि उल्लेखित गतिविधिले खासै आकर्षित गर्दैन । देख्दै, सुन्दै र पढ्दै आएका छौं ।
करिब एक महिना अघि । रातको १० बज्दै थियो । सभागृह अघि केही युवतिहरु देखिन्छन् । उनीहरु यौनकर्मी हुन् । एउटा ग्रुप नै बनाएर कुरिरहेका छन् , ग्राहक ।
यत्तिकैमा २ युवा पल्सर २२० मा आएर अडिन्छन् । यौनकर्मीहरु भन्ने चिनेर हो वा अनुमानले, सिधा प्रश्न तेर्सिन्छ ‘जाने हो ?’ एक युवती बाइक नजिक पुगेर सोध्छिन् ‘कतिमा जाने ?’
ति युवाहरुले एक जनाको एक हजारको दर प्रस्ताव गर्छन् । युवती आक्रोशित भएर जवाफ फर्काउँछिन् मा… हजारमा त सुँध्न पनि पाउँदैनस् । रुखो जवाफ पछि युवाहरु पनि आक्रोशित मुद्रामा भन्छन् ‘जाने भए हिँड, नभए त्यहि पनि पाउन्नस्’ ।
एकछिन दुवै शान्त भएपछि युवतीले प्रस्ताव राख्छिन् ‘२ जना जान्छम् । एक–एक हजार गर्दे तर एक पटकको मात्र ।’
बाइकवालाले हेल्मेट निकाल्दै सोध्छ ‘ल कहाँ जाने जाम न त’ । युवती भन्छिन् ‘उ यहीँ तल गल्लीमा । एक पटकका लागि पनि कहाँ जाने हो र । ’
दुवै पक्षबिच सहमति भयो । सभागृहबाट अलिकति अघि एक डिपार्टमेन्टल स्टोर छेउबाट तल झर्ने बाटो छ । जोडी त्यतै लाग्छन् । त्यहि नेर कार पार्किङ गर्ने ठाउँ रहेछ । अँध्यारोमा कस्ले देख्ने ? दुई जोडी त्यहि गए ।
करिब १ मिनेट पछि २ हजार हातमा थमाउँदै युवाहरु बाइकमा कुद्छन् ।
प्रायः दिनहुँ यस्ता गतिविधिहरु भइरहेका छन् । पोखराका अँध्यारा गल्लीहरुले यौनकर्मी र उनका ग्राहकहरुलाई ‘सेक्स अन अ मिनट’को स्वादमा मसला थप्ने काम गरिरहेका छन् ।
यो बाहेक जाल्पा रोड, सिर्जनाचोक, नागढुङ्गा, जिरो किमि लगायतका स–साना गल्लीहरुमा यस्ता गतिविधिहरु पटक पटक देख्न पाइन्छ ।
पोखराका गल्लीहरुमा फरक यत्ति छ । डी वलेनमा झ्यालबाट देखिएर ग्राहक आकर्षित गर्छन्, यहाँ बाटोमै बार्गेनिङ । डी वलेनले डिलक्स बेडमा यौन ग्राहक सुताउँछ , यहाँ अध्यारो साघुँरो गल्लीमै काम चल्छ । यौनकर्मीलाई व्यवस्थित तवरले राखेर कर उठाउँछ डी वलेन । यहाँ अव्यवस्थित यौनकर्मीहरु खुलेआम धन्दा गरिरहन्छन् ।
डी वलेन स्ट्रीट र पोखराका केही स्ट्रीटहरुको गतिविधी भने एउटै छ, यौन धन्दा ।
याे पनि पढ्नुहाेस्
बहसमा रेडलाइट
‘रेडलाइट एरिया’ बहसको विषय बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ
ग्राहक, साहु र राज्यबाटै पीडित छौँ : यौनकर्मी
यौनकर्मी र लाइसेन्स
पर्यटकीय नगरी कि रेडलाइट जोन ?
पोखरामा कलेज गर्लको हाई डिमान्ड
गोल्ड डिगर, इन सर्च अफ रिच डम्ब एस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.