www.tandavnews.com
Fact ~ In search of truth

थुन्से…

कविता : थुन्से

-विवेक देवकाेटा 

उ स्वार्थि छैन
उ सँधै मेरा जहानको पेट भर्ने चिन्ता गर्छे
हुन त पैला उ आफ्नै पेट भर्छे
कैले टन्न कोदो भर्छे
कैले गहुँ त,कैले मकै भर्छे
कैलेकाँही केहि नहुँदा भुत्ला, भुस
र खोइलाले पनि चित्त बुझाउँछे
जे जस्तो होस् थुन्से ले
मेरा जहान र आफ्नो दुवै को पेट भर्छे।

Batas

थुन्से पनि म जस्तै आईमाई हो
उस्ले नाम्लो को पोते,चुयो को लुङ्गी
अनि थैलो को पछ्यौरो ओड्छे
ठ्याकै म जस्तै थुन्से पनि आईमाई हो ।

सुन्दा नपत्याउला थुन्से को मन पनि छ
यदि मन हुन्नथ्यो भने
मेरो पिठ्युँ किन छाड्दिन त,
बरू मेरा बुढा रिसाउँदा फिरपाता मा
अगुल्टो र मुङ्ग्रो छोड्छन्
तर थुन्से ले मेरो पिठ्युँ कैल्यै छाड्दिन।

म दैलो छिरेको अर्को बियान देखि
थुन्से र म सँगै छम्
तिजे झरी मा माईत जाँदा भने
बर्षमा एक दिन, थुन्से एक्लै हुन्छे
नत्र, मेलापात, घाँसदाउरा
अर्मपर्म, गोठघर, उजेली अँधेरी
चारै बेला थुन्से र म सँगै छम्
“बर्खाको पानी हिउँदको घाम
दुखिया कर्म दिनै को काम”
थुन्से बोल्दी हो त,कति गाउथी
मेरो गीत,नबोले नि मेरो पिठ्युँ मा
थुन्से नाच्छे, र म गाउछु

मेरा चचार जना केटाकेटी थुन्सेले त हुर्काई
थुन्से भरी कोदो, कोदो माथि झिजा,
झिजा माथि भुन्टा भुन्टी, बिचरी थुन्से
हुर्के, बडे,खुट्टा लाए , आजकल
अक्कल झुक्कल झुलकिन्छन्
ला को बानि काँ जान्छ नानि, साँच्चै रै छ
बैँस को बानि बुडेउलिमा काँ जानि
थुन्से का काप्रा र मेरा हड्डी हुन्नथे भने
बुढा को दारू र दाउरा ले
म र थुन्से उहिल्यै पिण्ड पर्थेम
अब कसैको आश छैन,थुन्से जो आडमा छे।

हात,खुट्टो नचल्दानि थुन्से मेरो
ओछ्छिन को छेउमा थाउना भरेर बसिछे
अब एउट‌‌ै धोको छ
थुन्से, थाउना र मलाई एउटै चितामा चिन्नु
अनि सँगै जलाउनु
थुन्से, थाउना र मलाई सँगै जलाउनु।।

धन्यवाद ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.